लघुकथा

लघुकथा

नेपाली लघुकथाहरुको अन्तराष्ट्रीय अनलाईन दैनिक प्रकासन तथा अभिलेख
रचना पठाउनको लागी ई मेल ठेगाना laghukathaa@anish.com.np
अतिक्रमण
रचनाकार : प्रसान्त खरेल, प्रकाशित मिती : Tuesday, July 28, 2009

....... कोटेश्वर थिमी, नयाँ बाटो ......... कोटेश्वर ........ ल ......... ल .... आउनुहोस् ..... जानै लाग्यो .......... (ढ्याक, ढ्याक) कोटेश्वर ...... थिमी “भाइ कौसलटार जान्छ?” “जान्छ, जान्छ” “नमस्ते प्रशान्तजी (नमस्ते) सञ्चै हुनुहुन्छ?” मेरो साथी रमेश प्रश्नसँगसँगै मसँग हात मिलाउँछ मेरो छेउको खाली सिटमा बस्छ।
“म त सञ्चै छु। तपाईंलाई नि ? जागिरे भएपछि त भेटघाट नै बन्द भयो। कहाँ बेपत्ता हुनुभएको थियो?” म प्रश्नमाथि प्रश्न गर्दछु। (गाडी गुड्न सुरु गर्दछ) “कहाँ प्रशान्तजी फुर्सदनै हुँदैन। तपाईंले पनि काम गर्न थाल्नुभयो अरे, होइन र? मलाई तीर्थले भनेको थियो .........” मेरो साथीको भनाइ टुङ्गिन पाएकै थिएन खलाँसीको छेउमा उभिएको १०/११ वर्षका केटो हिन्दी गीत गाउन थाल्दछ। “तु चिज बढी है मस्तमस्त, तु ..........।”
“भाइ तिमी कति कक्षामा पढ्छौ?” रमेश प्रश्न गर्दछ। “छैन। पहिले ३ मा पढदै थिएँ। पढ्न अल्छी लाग्यो, छाडिदिएँ। बरु खलाँसी हुन सजिलो रै'छ त्यसैले काम सिक्न आएको।” ऊ उत्तर दिन्छ र फेरि अर्को गीत गाउन थाल्दछ “हम तुम एक कमरामे बन्द है, .........।”
“भाइ तिमीलाई “राजमती कुमती ...... ” गाउन आउँछ?” म प्रश्न गर्दछु। “आउँदैन। त्यस्तो छोट्टा गीत पनि गाउने हो र? यस्तो पो गाउनुपर्दछ “चोलीके पिच्छे क्या है, चोलीके पिच्छे ...........” ऊ जो नेवारी समुदायको हो, आफ्नै संस्कृतिलाई अवहेलना गर्दछ र हिन्दी गीतका विकृति संस्कारलाई अँगाल्दछ।
“भाइ तिमीलाई गोपालयोञ्जनको “देशले रगत मागे मलाई बली चढाऊ ..... ” गाउन आउँछ?” छ्या त्यस्तो पाखे गीत पनि गाउँछ? गीत त यस्तो पो होस त .......... ” फेरि गाउँछ। “मै लैला लैला चिल्लाउङ्गा, कुर्था फाडके, मै .........”
गाडी ध्याच्च रोकियो। हेरेँ कोटेश्वर आइपुगेछ। “हवस् त रमेशजी म अहिले विदा हुनुपर्‍यो। पछि भेटघाट गर्दै गरौँला।” “हुन्छ, बिदा होऊँ।” म रमेशसँग विदा भएर आफ्नो गन्तव्यतर्फ लाग्दछु। बाटाभरि म मित्रराष्ट्रबाट भएका आर्थिक, सामाजिक, भौगोलिक तथा सांस्कृतिक अतिक्रमणको बारेमा सोचिरहन्छु। मलाई थाहा थिएन, साँच्चै नै सांस्कृतिक अतिक्रमणको परिणाम साह्रै भयावह हुँदोरहेछ। व्यक्ति अनि समाजले आफ्नो अस्तित्वनै बिर्सिएर राष्ट्रियता नै हराउँदो रहेछ।